नेपाल चिकित्सक सङ्घ पनि आन्दोलित, भोलि मन्त्रालय र सिडिओ कार्यालय घेराउ गर्ने

नेपालभ्युज

नेपाल चिकित्सक सङ्घ पनि आन्दोलित, भोलि मन्त्रालय र सिडिओ कार्यालय घेराउ गर्ने

काठमाडौं । आवासीय चिकित्सकहरूलाई सरकारले तोकेको आठौं तह सरहको निर्वाह भत्ता उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै नेपाल चिकित्सक सङ्घ आन्दोलित भएको छ। सङ्घले बिहीबारदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका  अध्यक्ष डा. अनिलविक्रम कार्कीले भोलि वैशाख ११ गते बिहान १० बजेदेखि १२ बजेसम्म देशभरका चिकित्सकहरूलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय घेराउ गर्न आह्वान गरेका छन्। साथै, उपत्यकाभित्रका सम्पूर्ण चिकित्सकहरूलाई माइतीघर मण्डलामा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।

सङ्घले  सरकारलाई २४ घण्टाको अल्टिमेटम दिएको छ। यदि माग सम्बोधन नगरिए वैशाख १२ गतेदेखि देशभर आकस्मिक र सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी समेत दिइएको छ। डा. कार्कीले चिकित्सकहरूको आत्मसम्मानको आन्दोलनलाई सफल पार्न सम्पूर्ण नागरिक समाज, पेशागत सङ्घ सङ्गठन, मेडिकल सोसाइटी, बुद्धिजीवी र पत्रकारहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।

नेपाल चिकित्सक सङ्घको  विस्तारित कार्यसमिति र आन्दोलनरत चिकित्सकहरूको छलफलपछि यो निर्णय लिइएको हो। सङ्घले विगत २८ दिनदेखि चिकित्सकहरूको माग सम्बोधन गर्न राज्यले उदासीनता देखाएको आरोप लगाएको छ।

चिकित्सा शिक्षा आयोगको १६ औं पूर्ण बैठकले आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७ सय ३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको थियो। तर, निजी मेडिकल कलेजहरूले उक्त निर्णय भूतप्रभावी नहुने भन्दै कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन्।

सङ्घले  यसअघि चैत ३१ गते ७२ घण्टे अल्टिमेटम दिँदा पनि राज्यले ठोस कदम नचालेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। डा. कार्कीले आफ्नो आन्दोलन निर्णय कार्यान्वयन नगर्ने निजी मेडिकल कलेजसँग नभई कार्यान्वयन नगराउने राज्यसँग लक्षित रहेको स्पष्ट पारेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved