काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रवास समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ । अन्तरमहादेशीय संगठन समितिअन्तर्गतको युरोप र अष्ट्रेलिया शाखाले बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टीबी पाठक, जनप्रगतिशील मञ्च युरोपका कोषाध्यक्ष डोलराज भण्डारी र जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष दीपक पाण्डेले चेक हस्तान्तरण गरेका हुन् ।
चेक ग्रहण गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सहयोगका लागि यूरोप र अष्ट्रेलियाका शाखा समितिलाई धन्यवाद दिए । नेपालमा पटकपटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै उनले यसपटक पनि बेलैमा पहलकदमी लिएर संकट व्यवस्थापनको नेतृत्व गरेको बताए ।
विगतमा टुटफुटलगायत विभिन्न कारणले कमजोर बन्न पुगेको माओवादी आन्दोलनमा पुनः जागरण सुरु भएको उल्लेख गर्दै प्रचण्डले अहिले लाखौं युवा प्रवासमा रहेकाले उनीहरूलाई संगठित गर्दै देशभित्रै फर्केर केही गर्नसक्ने वातावरणको सिर्जना गर्न पार्टीका प्रवास समितिहरू लाग्नुपर्ने उनले उल्लेख गरे ।
देश सँधै एउटै अवस्थामा नरहने र विस्तारै युवाहरू बिदेशिनुपर्ने बाध्यता कम हुँदै जाने दाबी गर्दै उनले आफ्नो पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डामा निरन्तर अघि बढ्ने बताए ।
Facebook Comment
Comment