माओवादी केन्द्रले ६ महिना अभियान चलाएपछि महाधिवेशनको तयारी गर्ने

नेपालभ्युज

माओवादी केन्द्रले ६ महिना अभियान चलाएपछि महाधिवेशनको तयारी गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले अब पहिलो छ महिना अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संश्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको छ ।

आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । छ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्ष प्रचण्डले घोषण गरे ।

माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै चैतभरि तयारी गरेर बैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले सबै नेताहरुले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ ।

सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताहरुको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिम रुप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ । समितिले चाँडै एकता वार्ताको पहल गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पार्टी रुपान्तरण र पुनर्गठनको सङ्कल्प, आजको एतिहासिक आवश्यकता शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ ।

प्रचण्डको प्रस्तावमा ११८ जना केन्द्रीय सदस्यले सुझाव दिएका थिए । बैठक समापनका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्माका प्रस्तावले पार्टीलाई जीवन्त बनाउने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved