काठमाडौं । चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबोटले अमेरिकामा हलचल मच्चाएको छ ।
अमेरिकामा जनवरीको तथ्याङ्कअनुसार यो एप्पलको स्टोरबाट सबैभन्दा धेरै निःशुल्क डाउनलोड हुने एप बनेको छ ।
यो एप छोटो समयमै यति लोकप्रिय हुनुको कारण अमेरिकामा आधारित एआई कम्पनीहरूको तुलनामा यसको कम लागत हुनु हो ।
एआई च्याटबोट डीपसीकको उदयले अमेरिकाको वाल स्ट्रिटमा हलचल मच्चाएको छ । जसकारण चिप निर्माता कम्पनी एनभिडियाको बजार मूल्य ६०० अर्ब डलरभन्दा बढीले घटेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्टार्टअप डीपसीकबारे चेतावनी दिँदै यो अमेरिकाको प्रविधि उद्योगका लागि जागरणको क्षण भएको बताएका छन् ।
सिलिकन भ्याली भेन्चर क्यापिटलिस्ट मार्क एन्ड्रिसेनले डीपसीकलाई स्वागत गरेका छन् । यसलाई एआईमा ‘अहिलेसम्मको सबैभन्दा शानदार र प्रभावशाली सफलता’ भनेका छन् ।
यस एपका अनुसन्धानकर्ताहरूकाअनुसार यसलाई बनाउन ६० लाख डलर मात्र खर्च भएको छ, जुन अमेरिकामा एआई कम्पनीहरूले खर्च गरेको अर्बौं डलरभन्दा निकै कम हो ।
डीपसीक के हो ?
डीपसीक एक चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी हो, जुन चीनको दक्षिण-पूर्वी सहर हांग्जाउमा स्थापना भएको थियो ।
मोबाइल एप मार्केट इन्टेलिजेन्स प्लेटफर्म सेन्सर टावरकाअनुसार कम्पनी जुलाई २०२३ मा लन्च गरिएको थियो तर, यसको लोकप्रिय एआई सहायक एप अमेरिकामा जनवरी १० सम्म रिलिज भएको थिएन ।
Liang Wenfeng ले हेज कोषमार्फत लगानीकर्ताहरू जम्मा गरेर डीपसीक सुरु गरेका हुन् ।
४० वर्षिया उनी इलेक्ट्रोनिक ईन्जिनियरिङमा स्नातक होल्डर हुन् । उनले कथित रूपमा एनभिडिया ए१०० चिप्स प्रयोग गरेर स्टोर बनाएका थिए । तर, अहिले यसको चीन निर्यातमा प्रतिबन्ध लगाइएको छ ।
विज्ञहरू विश्वास गर्छन् कि उनले लगभग ५० हजार चिप्सको सङ्ग्रहमार्फत डीपसीक सुरु गरेका हुन् । उनले सस्तो चिपहरू प्रयोग गरे, जुन अझै पनि चीनमा आयात गरिन्छ ।
लिआङले हालै उद्योग विशेषज्ञ र चिनियाँ प्रधानमन्त्री ली कियाङसँग भेटघाट गरेका थिए ।
कसले प्रयोग गरिरहेको छ ?
कम्पनीको एआई एप यसको वेबसाइटमा अनलाइन र एप्पलको एप स्टोरमा डाउनलोड गर्नका लागि उपलब्ध छ ।
यो सेवा नि:शुल्क छ र एप्पलको स्टोरमा सबैभन्दा छिटो डाउनलोड हुने एप बनेको छ । यो अमेरिकामा एप्पलको एप स्टोरमा शीर्ष मूल्याङ्कन गरिएको नि:शुल्क एप पनि भएको छ ।
डीपसीक ChatGPT जस्तै काम गर्ने शक्तिशाली एआई सहायकका लागि चर्चित भएको छ । एप स्टोरमा यसको विवरणअनुसार यो ‘तपाईंका प्रश्नहरूको जवाफ दिन र जीवनलाई सजिलो बनाउन’ डिजाइन गरिएको हो ।
यस एपलाई रेटिङ दिँदै एक प्रयोगकर्ताले ‘यसले लेख्नलाई विशेष गुणस्तर दिन्छ’ भनी टिप्पणी गरेका छन् ।
अमेरिकी कम्पनीलाई घाटा
डीपसीकले यसलाई आफ्नो अमेरिकी प्रतिद्वन्द्वी कम्पनीहरूभन्दा धेरै कम लागतमा अर्थात् केही लाख डलरमा तयार गरेको बताइएको छ । यो सफलताले अमेरिकाको एआई प्रभुत्वको भविष्यमाथि पनि प्रश्न खडा गरेको छ ।
जनवरी २७ मा वित्तीय बजारमा उथलपुथल भएको थियो, सम्भवतः कम्पनीको कम लागतका कारण । टेक कम्पनीहरूले भरिएको अमेरिकी स्टक एक्सचेन्ज Nasdaq मा तीन प्रतिशतले गिरावट आएको छ ।
यसको सबैभन्दा नराम्रो असर अमेरिकामा आधारित कम्पनी एनभिडियामा परेको छ, जसले शक्तिशाली चिप्स बनाउँछ र एआईमा प्रयोग गरिन्छ ।
सोमबार यसले लगभग ६०० बिलियनको बजार मूल्य गुमाएको छ । यो अमेरिकाको इतिहासमा कुनै पनि कम्पनीको एकैदिनमा सबैभन्दा ठूलो गिरावट हो । यसको सेयर मूल्य दिनभर १७ प्रतिशतले घटेको छ ।
फोर्ब्सकाअनुसार एनभिडिया बजार पुँजीकरणका हिसाबले विश्वको सबैभन्दा मूल्यवान कम्पनी थियो तर, सोमबार यसको बजार मूल्य ३.५ ट्रिलियन डलरबाट २.९ ट्रिलियन डलरमा झर्दा एप्पल र माइक्रोसफ्टलाई पछि पार्दै तेस्रो स्थानमा झरेको छ ।
डीपसीकले एनभिडियाद्वारा बनाएको भन्दा कम उन्नत अर्धचालक चिपहरू प्रयोग गर्दछ । यसको सफलताले उन्नत एआईलाई ठूला बजेट र हाई-टेक चिपहरू चाहिन्छ भन्ने विश्वासलाई कमजोर बनाएको छ ।
यद्यपि, यस घटनाले भविष्यको बारेमा ठूलो अनिश्चितता र उच्च प्रदर्शन चिपहरूको आवश्यकता सिर्जना गरेको छ ।
-बीबीसीबाट
Facebook Comment
Comment