काठमाडौं । न्युजिल्यान्डलाई हराउँदै भारतले कीर्तिमानी तेस्रो च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
आइतबार राति यूएईको दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा सकिएको फाइनल खेलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत सर्वाधिक उपाधि जित्ने टोली बनेको हो ।
उपाधि विजेता भारतले प्रतियाेगितामा आफूले खेलेका सबै पाँच खेल जितेको छ ।
यसअघि भारत अष्ट्रेलिया दुई–दुई पटकका सर्वाधिक विजेता थिए । अब भारतले अष्ट्रेलियालाई उछिनेको छ । दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान, वेस्ट इन्डिज र श्रीलङ्काले पनि उपाधि एक–एक पटक जितेका छन् ।
यो जितसँगै भारतले २५ वर्षअघि च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्डसँगको हारको बदला लिएको छ ।
सन् २००० मा न्युजिल्यान्ड भारतलाई चार विकेटले हराएर च्याम्पियन बनेको थियो ।
यसरी सम्भव भयो जित
न्युजिल्यान्डको इनिङ्सको ११औं ओभरको पहिलो बलमा कुलदीप यादवले रचिन रवीन्द्रलाई बोल्ड गरेसँगै भारतको जितको आधार तया भएको थियो ।
यस बलपछि खेलको अन्तिम बलसम्म न्युजिल्यान्डले खेलमा पुनरागमन गर्ने कुनै महत्वपूर्ण मौका पाएन र भारतीय क्रिकेट टोली खेलभरि लगभग हाबी रह्यो ।
खेलमा भारतलाई न्युजिल्यान्डले जितका लागि २५२ रनको लक्ष्य दिएको थियो । जुन भारतीय टोलीले ४९ ओभरमा ६ विकेट गुमाएर हासिल गर्यो ।
यसअघि भारत सन् २००२ मा भारत श्रीलङ्कासँगै च्याम्पियन्स ट्रफीको संयुक्त विजेता बनेको थियो । यसपछि २०१३ मा मेहेन्द्रसिंह धोनीको नेतृत्वमा टिम इन्डिया च्याम्पियन बन्न सफल भयो ।

कसले कस्तो खेले ?
७६ रनको पारी खेलेका कप्तान रोहित शर्मालाई प्लेयर अफ द म्याच घोषित गरियो । रोहितको ७६ रनको इनिङ्सबाहेक कुलदीप यादव र वरुण चक्रवर्तीको बलिङले पनि भारतलाई विजयी बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो । कुलदीप र वरुणले दुई–दुई विकेट लिए ।
भारतीय इनिङ्सको दोस्रो बलमा कप्तान रोहितले छक्का प्रहार गर्दै ठूलो इनिङ्स खेल्ने आफ्नो मनसाय व्यक्त गरेका थिए । रोहित उत्कृष्ट ब्याटिङ गर्दै पहिलो पावर प्लेपछि भारतको स्कोर बिना कुनै क्षति ६४ रन बनेको थियो ।
पावर प्लेको ६४ रनमा रोहितले ४९ रनको योगदान गरे भने शुभमन गिलको ब्याटबाट केवल १० रन मात्र बन्यो । पहिलो पाव रप्लेलगत्तै रोहितले ४१ बलमा आफ्नो अर्धशतक पूरा गरे ।
यद्यपि, कप्तान स्यान्टनर र ब्रेसवेलले आफ्नो स्पिन बलिङबाट न्युजिल्याण्डलाई खेलमा फर्काउने प्रयास गरे।
भारतीय इनिङ्सको १९ औं ओभरको चौथो बलमा कप्तान मिचेल स्यान्टनरले शुभमनलाई ग्लेन फिलिप्सको हातबाट क्याच गराए । अर्को ओभरमा विराट कोहली पहिलो बलमा ब्रेसवेलको बलमा एलबीडब्लू आउट भए ।

प्रतियोगिताभरि उत्कृष्ट लयमा रहेका विराट कोहलीले अन्तिम खेलमा केवल दुई बलको सामना गर्न सके र एक रन बनाए ।
यस्तै श्रेयस अय्यरले ४८ रनको इनिङ्स खेले । त्यसैगरी, केएल राहुलले ३४ रनको अविजित इनिङ्स खेलेर टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले ।
न्युजिल्यान्डका कप्तान सान्टनर र मिचल ब्रेसवेलले दुई–दुई विकेट लिन सफल भए ।
यसअघि न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिलो पावर प्लेमा ओपनर विल योङ र रचिन रविन्द्रले कप्तान सान्टनरको निर्णयलाई सही साबित गरे ।
तर वरुण चक्रवर्तीले फेरि एकपटक महत्वपूर्ण क्षणमा भारतलाई सफलता दिलाए । आठौं ओभरको पाँचौं बलमा वरुणले योङलाई पभेलियन फर्काए ।
पहिलो पावर प्ले सकिएपछि कप्तान रोहितले कुलदीपमाथि भरोसा गरे । कुलदीपले पहिलो बलमा नै रचिनलाई बोल्ड गरे । उनले न्युजिल्यान्डको इनिङको १३औं ओभरमा केन विलियमसनलाई आउट गरे ।

कुलदीपको यिनै दुई विकेटपछि न्युजिल्यान्डले पुनरागमनको मौका पाएन । यद्यपि, डेरिल मिचेलले न्युजिल्यान्डको इनिङ्स सम्हाल्न सक्दो प्रयास गरे । फिलिप्सले पनि ३४ रन बनाएर मिचेललाई राम्रो साथ दिए ।
तर वरुणले उनलाई बोल्ड गर्दै प्याभिलियन फिर्ता पठाए । यो बेला न्युजिल्यान्डले ३७.५ ओभरमा पाँच विकेट गुमाएर १६५ रन बनाएको थियो ।
यसपछि, ब्रेसवेलले न्युजिल्यान्डको इनिङ्सको जिम्मेवारी सम्हाले र ४० बलमा ५३ रनको अविजित इनिङ्स खेले । उनको पारीका कारण न्युजिल्यान्डले ५० ओभरमा सात विकेट गुमाउँदै २५१ रनको सम्मानजनक स्कोर पुर्याउन सफल भयो ।
वरुण चक्रवर्तीले १० ओभरमा ४५ रन दिएर दुई ब्याट्सम्यानलाई प्याभिलियन फर्काए । अक्षर पटेलले कुनै विकेट नपाए पनि उनी धेरै किफायती साबित भए र ८ ओभरमा केवल २९ रन खर्च गरे ।
रवीन्द्र जडेजाले १० ओभरमा ३० रन दिएर एक विकेट लिए । फाइनलमा शमी महँगो साबित भए र उनले ९ ओभरमा ७४ रन दिएर एक विकेट लिए ।
Facebook Comment
Comment