दोस्रो विश्वयुद्धको अन्त्यदेखि कायम रहँदै आएको अमेरिकी नेतृत्वको विश्व व्यवस्था संदिग्ध बनेको लामै समय भयो । राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा यो अन्ततः चकनाचुर हुन थालेको छ ।
ट्रम्पले आफ्ना साझेदार र विरोधीजस्ता दुवैमाथि निरन्तर प्रहार गरिरहेका छन् । गत हप्ता उनले अमेरिकाका सबैभन्दा नजिकका व्यापारिक साझेदार समेतलाई व्यापक वस्तुमाथि शुल्क लगाउने घोषणा गरे । ट्रम्पको शुल्क नीतिले दशकौँदेखिको अन्तर्राष्ट्रिय व्यापारप्रतिको अमेरिकी प्रतिबद्धतालाई प्रभावकारी ढङ्गले अन्त्य गर्दै विश्व बजारलाई अस्थिर बनाएको छ ।
ट्रम्पले संयुक्त राष्ट्र सङ्घ, नेटो र युरोपेली सङ्घजस्ता बहुपक्षीय संस्थाप्रतिको आफ्नो घृणा बारम्बार प्रकट गरेका छन् । आन्ध्र महासागर पार साझेदारीको आधारलाई आधारभूत रूपमै क्षति पुर्याएका छन् । उनले युएसएआइडी ध्वस्त र भ्वाइस अफ अमेरिकालाई मौन पारेका छन् ।
भविष्यबारे निराशावादका राम्रा कारण छन्– एउटा यस्तो संसार जहाँ रुस, चीन र ट्रम्पको अमेरिकाले डर र फाइदाका आधारमा प्रभाव क्षेत्रहरू बनाउने छन् । अमेरिकी विश्व व्यवस्थाको अन्त्यसँग अराजकता अपरिहार्य जोडिएर आउने छैन । यो डर आंशिक रूपमा निम्न दुई त्रुटीसँग आधारित छ ।
पहिलो– विगत सात दशक वा सोभन्दा बढी समयदेखि पश्चिमका लागि जति राम्रो भयो, त्यति नै राम्रो धर्तीका सबैलाई भएको छैन ।
दोस्रो– यो विश्व व्यवस्थाका सबै अर्तीउपदेश पश्चिमा आविष्कार हैनन् ।
आशावादको पनि कारण छ । अमेरिकी व्यवस्था नै एक मात्र सम्भव प्रणाली हैन भनेर सबैले बुझ्ने छन् । यो धेरै देशहरूका लागि विशेष राम्रो वा निष्पक्ष पनि हैन । यसको अन्त्यले अझ समावेशी विश्वको सङ्केत गर्न सक्दछ भन्ने आशा गर्न अनुमति दिन्छ ।
यो विश्व व्यवस्थाका प्रतिरक्षकहरूको तर्क छ कि यसले सम्भावित ठूला युद्धलाई रोकेको छ । उल्लेखनीय रुपमा स्थिर र समृद्ध अन्तर्राष्ट्रिय प्रणाली कायम राखेको छ । केही उच्च कोटीका देशको लागि यसले राम्रै गरेको छ ।
बेलायती राजनीतिज्ञ तथा अन्तर्राष्ट्रिय सम्बन्धका विद्वान इभान लुआर्ड गणना गर्छन् कि सन् १९४५ देखि १९८४ सम्मका ठूला १२० युद्धमध्ये २ वटा मात्र युरोपमा भए । यो अवश्य पनि हो, तर, यसको परिणामतः शीतयुद्धको अवधिमा भएका युद्धमध्ये ९८ प्रतिशत पश्चिम बाहिरका देशमा भएका थिए ।
यदि युद्धोतर व्यवस्थाको पहिलो र मुख्य वाचा शान्ति हो भने धेरै देशले यस्तो प्रश्न सोधे क्षमा गर्नुपर्ने हुन्छ –शान्ति कसका लागि ?
पश्चिमले आफ्ना सदस्य र अन्य केही देशलाई अराजकता, अन्याय र अस्थिरताबाट जोगाउन सफल हुनु मात्र शान्ति हो ? त्यसले अन्यमा अव्यवस्थाका लागि योगदान गर्यो भने के भन्ने ? जस्तो कि भियतनाम, अफगानिस्तान, इराकमाथिको अमेरिकी हस्तक्षेप ।
राष्ट्रहरूबीच सहकार्यको विचार पश्चिमको उदयभन्दा धेरै अगाडि देखिको हो । हेनरी किसिन्जरको पुस्तक ‘वर्ल्ड अर्डर’ ले सन् १८१५ मा नेपोलियनको पराजयपछि उदित भएको ‘कन्सर्ट अफ युरोप’ लाई अन्तर्राष्ट्रिय स्थिरता संरक्षणका लागि सहमतिको एक प्रारूपका रूपमा चित्रण गर्दछ ।
तर, महाशक्ति–कूटनीति लगभग ३ हजार वर्ष पुरानो कुरा थियो । त्यो बेला पूर्व नजिकका महाशक्ति इजिप्ट, हट्टी, मिटानी, असुरिया र बेबिलोनिया थिए–यिनले अमर्ना कूटनीति भनेर चिनिने प्रणाली विकास गरेका थिए । यो पारस्परिकता र समानताको सिद्धान्तमा आधारित थियो ।
‘कन्सर्ट अफ युरोप’ एक शताब्दीभन्दा पनि कम समय, पहिलो विश्व युद्धको आसपाससम्म चल्यो । अमर्ना प्रणालीले दोब्बर लामो समयसम्म शान्ति कायम गरेको थियो । इजिप्ट र हट्टीबीच इशापूर्व १२६९ मा भएको अनाक्रमण र अहस्तक्षेप सम्झौता सबैभन्दा पुरानो र ज्ञात लिखित सम्झौता थियो ।
करिब २ हजार वर्ष पहिलेको भारतको मनुस्मृतिमा युद्धका मानवीय नियम, नागरिक सुरक्षा र पराजित सैनिकसँग गरिनुपर्ने व्यवहार समावेश छन् ।
त्यसमा भनिएको थियो– युद्धमा कुनै योद्धाले आफ्नो शत्रुसँग लड्दा हात जोडेर बिन्ती गरिरहेको, घुँडा टेकेको, खुला कपाल फिँजाएर डरले भागिरहेको र ‘म तिम्रो भइसकेँ’ भनेर समर्पण गरेको छ भने त्योमाथि आक्रमण गर्नु हुँदैन । त्यसैगरी, ढाल गुमाएको र निशस्त्र भएको योद्धाका लागि अतिरिक्त नियम थिए ।
सन् १९४९ को युद्ध सम्बन्धी जेनेभा महासन्धिमा ‘हतियार बिसाएका शसस्त्र सेनाका सदस्य’लाई दुर्व्यवहार गर्न प्रतिबन्ध गर्ने उस्तै प्रकारका नियम छन् ।
पुरातन युगका यी अवधारणाको जरालाई स्वीकार गर्नु भनेको एकअर्काप्रतिको पारस्परिक वाचा र सान्त्वना हो कि ती अमेरिकी प्रभुत्व नभएको संसारमा पनि अवस्थित हुन सक्दछन् । शान्तिको विश्व व्यवस्था सधैँ साझा प्रयासबाट सम्भव भएको छ ।
‘ग्लोबल साउथ’का धेरै राष्ट्र यस्तो विश्व व्यवस्थामा सहभागी हुन आतुर छन् जहाँ दोहोरो मापदण्ड कम र निष्पक्षता बढी होस् । युद्धोतर अवधिमा यिमध्ये धेरै राष्ट्रले स्वतन्त्रता हासिल गरे । अन्तर्राष्ट्रिय राजनीति र बहुपक्षीय संस्थाहरूमा सक्रिय सहभागी भए जसलाई अहिले अमेरिकाले नजरअन्दाज गरिरहेको छ ।
जब गैरपश्चिमा शक्तिहरू पश्चिम राष्ट्रबाहेकका समूहमार्फत आफ्ना सवाल अगाडि बढाइरहेका हुन्छन्– ती पश्चिमासँगको रिस र आक्रोशको भावनाले प्रेरित छन् भन्न मिल्दैन ।
उदाहरणका लागि उदयमान अर्थतन्त्रहरूको ब्रिक्स समूहले आफ्नो सदस्यतामा महत्त्वपूर्ण विस्तार गरेको छ, तर यसका धेरैजसो संस्थापक र नयाँ सदस्य अमेरिका विरोधी छैनन् । तिनले विश्वव्यापी सहयोग र सहकार्यलाई विघटन गर्नुको सट्टा सुधार र विस्तार गर्न चाहेको देखिन्छ । अझ समतामूलक प्रणालीलाई बढावा दिन ब्लकलाई प्रयोग गर्न खोजेका छन् ।
पुरानो विश्व व्यवस्था अझै मरिसकेको छैन । अतुलनीय सैन्यशक्ति, डलरको आधिपत्य र उच्चस्तरीय प्रविधि आधार संयोजनको कारण अमेरिका अझै शक्तिशाली छ । अमेरिका सायद विश्व महाशक्ति रहिरहने छ ।
अमेरिकाले बनाएको संसार यो शताब्दीभरि टिक्ने सम्भावना भने निक्कै कम छ । अमेरिका, चीन वा मुठ्ठीभर ठूला शक्तिले मात्र नभई, देशहरूको विश्वव्यापी बहुपक्षले आकारित गरेको संसार स्वर्ग तुल्य त हुँदैन तर, अहिलेको भन्दा अझ बढी निष्पक्ष हुन सक्दछ ।
-द न्यूओर्क टाइम्सबाट अनूदित ।
Facebook Comment
Comment