पुँजीवादका यी ७ नियम, जो ट्रम्प बुझ्न चाहिरहेका छैनन्

‘पुँजीवादी राज्य’को ‘अर्बपति राष्ट्रपति’ ट्रम्पले ‘पुँजीवादका नियम’ राम्रो गरी बुझेको हुनुपर्ने हो । तर, ट्रम्पका आर्थिक नीति हेर्दा यस्तो लाग्छ – उनले पुँजीवादका आधारभूत नियम नै बुझेका छैनन् वा बुझ्न चाहँदैनन् वा बुझेर पनि स्वीकार गर्न सक्दैनन् ।

पुँजीवादका यी ७ नियम, जो ट्रम्प बुझ्न चाहिरहेका छैनन्

अमेरिकालाई समकालीन विश्व ‘पुँजीवादको केन्द्र’ मानिन्छ । अमेरिका ‘उदार लोकतन्त्र’को आदर्श राज्य दाबी गर्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैँ एक ठूला पुँजीपति हुन् । उनी विश्वका १ हजार अर्बपतिको सूचीमा करिब ७००औं स्थानतिर पर्दछन् । फोर्ब्सकाअनुसार अहिले उनको सम्पत्ति ५.१ बिलियन डलर बराबर छ ।

‘पुँजीवादी राज्य’को ‘अर्बपति राष्ट्रपति’ ट्रम्पले ‘पुँजीवादका नियम’ राम्रो गरी बुझेको हुनुपर्ने हो । तर, ट्रम्पका आर्थिक नीति हेर्दा यस्तो लाग्छ – उनले पुँजीवादका आधारभूत नियम नै बुझेका छैनन् वा बुझ्न चाहँदैनन् वा बुझेर पनि स्वीकार गर्न सक्दैनन् ।

त्यसो त यो प्रश्न पनि उठ्न सक्छ – के ट्रम्प पुँजीवादी त हुन् ? यदि होइनन् भने के हुन् ? कुन विचारका मान्छे हुन् उनी ? र आगामी ४ वर्षमा उनको विचारधाराले अमेरिका र विश्वमा के फरक ल्याउन सक्छ ?

ट्रम्प समाजवादी वा साम्यवादी त हुँदै हैनन्, उनी उदारवाद वा नवउदारवादको पनि उत्तिकै विरोध गरिरहेका हुन्छन् । त्यसो भए ट्रम्पको आर्थिक दर्शन के हो त ?

आधिकारिक मान्न नसकिए पनि ट्रम्पको राजनीतिक सोचमा सम्वर्द्धनवादी राष्ट्रवाद अर्थात् ‘कन्जरभेटिभ नेस्नाल्जिम’ र आर्थिक चिन्तनमा व्यापारवाद अर्थात् ‘मर्केन्टालिज्म’ झल्किन्छ । तर, विरोधाभास कहाँ छ भने सम्वर्द्धनवादी संरक्षणवाद वा राष्ट्रवादले आधुनिक लोकतन्त्र र बजार अर्थतन्त्रसँग तादाम्यता राख्न सक्दैन ।

राजनीति राष्ट्र निर्माणको कार्यभार पनि हो । प्रकट वा अप्रकट रूपमा त्यसको निश्चित वैचारिकी हुन्छ । राष्ट्र निर्माण प्रक्रियाका सबै अवयव व्यापारिक लेनदेनमा सीमित हुँदैनन् । यो कार्यभार पूरा गर्न गैर आर्थिक, अभौतिक र भावनात्मक यथार्थहरू पनि स्वीकार गर्नुपर्दछ ।

वाणिकवादी आर्थिक नीति शास्त्रीय उदारवादभन्दा पनि पुरानो हो । त्यसलाई सत्रौँ शताब्दीको आर्थिक चिन्तन भन्न सकिन्छ । सत्रौँ शताब्दीको आर्थिक दर्शन बोकेर ट्रम्पले एक्काइसौँ शताब्दीको पुँजीवादलाई नेतृत्व गर्न सहज हुने छैन ।

आउनुहोस्, निम्न ७ बुँदामा हेरौँ – कसरी ट्रम्पका आर्थिक नीतिले पुँजीवादका नियम नबुझेको झल्को दिन्छ ?

१. शुल्क वृद्धिको मार अन्ततः स्वयंमाथि पर्छ

ट्रम्प यसरी विश्वव्यापी शुल्क वृद्धि गर्दैछन् मानौँ कि त्यसको घाटा प्रतिस्पर्धी वा निर्यातकर्ता देशहरूलाई मात्र हुन्छ । हो, शुल्क वृद्धिले सम्बन्धित देशहरूको अमेरिका निर्यात निरुत्साहित हुन्छ । निर्यात अवसर अभावको कारणले ती देशको उत्पादन सङ्कुचन र वैदेशिक मुद्रा कमाउने क्षमतामा ह्रास आउन सक्दछ ।

तर, पुँजीवादी नियममा कुनै पनि नीति, घटना वा कारोबारको प्रभाव एकोहोरो हुँदैन । ट्रम्पले भन्सार शुल्क वृद्धि गर्दैमा अमेरिकी उपभोक्ता उपभोग नगरीकन बस्न सक्दैनन् । उपभोग सङ्कुचन गर्नुपरे बजारप्रति उपभोक्ता र राज्यप्रति नागरिक असन्तुष्टि बढ्छ । ट्रम्पले दोस्रो कार्यकाल सम्हालेको छोटो अवधिकै भइरहेका ठूल्ठूला विरोध प्रदर्शनले त्यसैको सङ्केत गर्दछ ।

अमेरिकी भन्सार शुल्क चीन, क्यानडा, मेक्सिकोजस्ता अन्य देशका उत्पादक वा व्यापारीले तिर्ने होइन । अमेरिकी आयातकर्ता व्यवसायीले भुक्तानी गरी वस्तु तथा सेवाको मूल्यमा थपेर उपभोक्ताबाट असुल्ने हुन् । यसबाट अमेरिकी बजारमा महङ्गी बढ्ने छ, जसको सङ्केत देखा परिसकेको छ । पछिल्लो एक महिनामा अमेरिकी बजारमा ५० प्रतिशत बढीले महङ्गी बढेको छ ।

अर्कोतिर ट्रम्प शुल्क वृद्धिबाट सङ्घीय सरकारको राजस्व बढ्ने र आन्तरिक करहरू कम गर्न सकिने विश्वास गर्छन् । यो नियम पनि पुँजीवादमा लागू नहुन सक्छ । किनकि शुल्क वृद्धिले आयातकै मात्रा सङ्कुचन भई राजस्वको स्रोत नै सुक्न सक्छ ।

२. संरक्षणवाद नै पुँजीवाद होइन

ट्रम्प विश्वव्यापी शुल्क वृद्धिले अमेरिकी उद्योगधन्दा प्रवर्द्धन हुने विश्वास गर्छन्, यस्तो सोचलाई अर्थशास्त्रमा संरक्षणवाद भनिन्छ । तर, संरक्षणवाद पुँजीवादी नियम होइन । पुँजीवाद प्रतिस्पर्धा र श्रेष्ठतामा आधारित हुन्छ, संरक्षणवादमा होइन । श्रम, पुँजी र प्रविधिको निर्वाह आप्रवाहबिना वस्तु तथा सेवा उत्पादन विशिष्टीकरण हुँदैन । तसर्थ, अर्थतन्त्रले श्रेष्ठता हासिल गर्न पनि सक्दैन ।

विश्वभरिका २०० बढी देशबाट अमेरिका निर्यात हुने सबै वस्तु तथा सेवा स्वयं अमेरिकाभित्र उत्पादन हुन असम्भव छ । भइहाले पनि त्यसको विशिष्टीकरण, गुणस्तर र श्रेष्ठतामा शङ्का गर्न सकिन्छ । कुनै पनि देशमा सबै प्रकारको कच्चा पदार्थ, श्रम परम्परा र प्रविधि हुँदैन । चाहे त्यो अमेरिकाजस्तो शक्तिशाली देश नै किन नहोस् ।

संरक्षणवादले अमेरिकी उपभोक्तालाई महङ्गी मात्र थप्दैन, गुणस्तरहीन वस्तु तथा सेवा उपभोग गर्नुपर्ने बाध्यात्मक स्थितिमा पुर्‍याउन सक्छ । यसको असर अमेरिकी जीवनस्तरमाथि पर्नेछ । एकपटक राम्रा र गुणस्तरीय वस्तुको उपभोग गर्ने बानी परिसकेका उपभोक्ता कमसल वस्तुबाट सन्तुष्ट हुँदैनन् ।

पुँजीवादी राज्यले अर्थतन्त्रमा अनावश्यक हस्तक्षेप गर्न मिल्दैन । गरे बजार नियम खण्डित हुन्छ र अर्थतन्त्र नै भद्रगोल हुनसक्छ । पुँजी अर्थतन्त्रमा राज्य नियामक, सहजकर्ता र उत्प्रेरक भूमिकामा बस्न राजी हुनुपर्छ । राज्यले यो सीमा नाघ्दा पुँजीवादी प्रणाली नै सङ्कटमा पर्न सक्छ ।

३. डलरको विश्व वर्चस्व कायम राख्न अमेरिकाले व्यापार घाटा सहनुपर्छ

ट्रम्प एकातिर विश्व बजारमा अन्तर्देशीय व्यापार र भुक्तानीको मानक अमेरिकी डलर बनिरहोस् भन्ने चाहन्छन् । ब्रिक्सलगायत कतिपय संस्थाले गरिरहेको डलर विस्थापन प्रयासको विरोध गर्छन् । डलरको प्रभुत्व अन्त्य गर्ने प्रयास र सोचप्रति आक्रामक प्रतिक्रिया दिन्छन् । अर्कोतिर अमेरिका व्यापार घाटा अन्त्य गर्न चाहन्छ । यो पनि ट्रम्पले पुँजीवादको नियम नबुझेको उदाहरण हो ।

पुँजीवादमा एक साथ यी दुवै कुरा हुन सक्दैनन् । कि त अमेरिकाले डलरको विश्व वर्चस्वप्रतिको मोह त्याग गर्नुपर्छ । नत्र अन्य देशलाई डलर सञ्चयको अवसर दिनु स्वाभाविक आवश्यकता बन्छ । यदि संसारका सबै देशसँग अमेरिकाको व्यापार बचत हुने हो भने तिनले डलर सञ्चय कसरी गर्छन् र अन्य देशसँगको वैदेशिक व्यापारमा डलरको भुक्तानी कहाँबाट ल्याएर गर्लान् ?

व्यापार घाटाको अर्थ राष्ट्रको कमजोरी मात्र होइन, सबलता पनि हो । देशसँग बेच्नेभन्दा धेरै किन्ने र उपभोग गर्ने क्षमता बनाएको प्रमाण पनि हो ।

४. प्रविधि हस्तान्तरण र विस्तार ‘चोरी’ होइन

ट्रम्प चीन र ताइवानलगायत धेरै देशमाथि प्रविधि चोरीको आरोप लगाइरहेका छन् । चीनलाई एआई र वस्तु नमुना प्रारूप तथा ताइवानमाथि सेमीकन्डक्टर चिप्स उद्योग अमेरिकाबाट चोरी गरेको ट्रम्पको आरोप छ ।

तर, पुँजीवादमा प्रविधि कुनै एउटा देशमा सीमित भएर बस्दैन । प्रविधिको विस्तार, हस्तान्तरण र विकास प्रक्रिया निरन्तर छ । अमेरिकी विश्वविद्यालयमा विश्वभरिका प्रतिभाशाली विद्यार्थीले गरेका सबै आविष्कार अमेरिकी बौद्धिक सम्पत्ति, ‘प्याटेन्ट’ वा ‘कपीराइट’ बन्दैनन् ।

ती विद्यार्थी जब देश फर्किन्छन् ज्ञान, सीप र प्रविधि आफ्नो देश अवश्य लैजान्छन् । प्रविधि कुनै एक राज्यको बौद्धिक सम्पत्ति मात्र होइन, मानव जातिको ज्ञान र सीपको द्योतक पनि हो । पुँजीवादले निरन्तर आविष्कार, नवचार, प्रविधि हस्तान्तरण र विस्तारलाई स्वाभाविक मान्दछ ।

५. खुम्चिएर ‘अमेरिका प्रथम’ हुँदैन

ट्रम्प एकातिर ‘अमेरिका प्रथम’ भनिरहेका छन् । अर्कोतिर विश्व व्यवस्थाको बहुपक्षीय प्रक्रियाबाट बाहिर हुन खोजिरहेका छन् । यूएसएड बन्द गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिकालाई बाहिर बनाएका छन् । कम्तीमा पुँजीवादको नियममा यो सम्भव छैन ।

पुँजीवाद क्रियाशील हुन पुँजीकरण भइरहनुपर्छ । पुँजीकरण चक्र क्रियाशील हुन पाउनु पर्छ । पुँजीकरणको अर्थ वित्तीय विस्तार मात्र होइन । बजार क्षेत्र, बजार अङ्श, बिक्री, मुनाफा र पुँजी विस्तार पनि हो । यो उद्देश्य सङ्कुचनबाट हासिल हुन सक्दैन । पुँजीवादमा सङ्कुचनले ह्रास र मन्दी निम्त्याउँछ, वृद्धि र तेजी होइन ।

विश्व भूमिका, बजार, द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय बहुपक्षीय संस्थाहरूबाट हात झिक्दै जाँदा अमेरिका स्वयं सङ्कुचन हुनेछ । सङ्कुचन भएको अमेरिका आफैँभित्र मात्र ‘प्रथम’ भइरहन सक्दैन । विश्व प्रक्रियाबाट टुटेर अमेरिकाले आफ्ना स्वार्थलाई प्रथम बनाई राख्न पुँजीवादी प्रणालीमा सम्भव छैन ।

६. हरित तथा नवीकरणीय ऊर्जाबाट भाग्न असम्भव

अर्को विडम्बना – राष्ट्रपति ट्रम्प आफ्ना राजनीतिक सहयोगी तथा विश्व धनाढ्य इलोन मस्कको विद्युतीय सवारी सधान टेस्लाको प्रवर्द्धन गर्न खोज्छन्, तर जलवायु परिवर्तनको सवाल, हरित तथा नवीकरणीय ऊर्जाका विरोध गर्छन् । उनले अहिले पनि जिवाष्म इन्धन उत्खननलाई जोड दिइरहेका छन् ।

विद्युतीय सञ्चारमाध्यमको विश्वव्यापी उत्पादनलाई अमेरिकाले रोक्न सक्दैन । जब यिनको विस्तार हुँदै जानेछ, स्वाभाविक रूपमा डिजेल तथा पेट्रोल गाडीहरूको बजार माग सङ्कुचन हुन थाल्नेछ । यो जलवायु परिवर्तन तथा अनुकूलन लागतको विषय मात्र नभएर आर्थिक प्रतिस्पर्धा पनि बन्न पुग्दछ ।

जस्तो कि अहिले चीनको बीवाईडी कम्पनीका गाडीले विश्व बजार पिट्न थालेका छन् । यसले टेस्लाको मात्र होइन, परम्परागत इन्धन गाडीको मागलाई पनि प्रतिस्थापन गर्दछ । हरित तथा नवीकरणीय ऊर्जाको महत्त्वलाई स्वीकार गर्न ट्रम्प बाध्य हुनेछन् ।

७. पुँजीवाद बिनाको अमेरिकासँग बाँकी रहन्छ नै के ?

विश्व पुँजीवादको केन्द्र र अर्बपति राष्ट्रपति भएको बेला पनि अमेरिकाले पुँजीवादी प्रणालीको पक्षपोषण र रक्षा गर्दैन भने अमेरिकासँग मौलिकता, फरकपन र प्रणालीगत विशेषता नै के बाँकी रहन्छ ?

अमेरिका मूलतः तीन मान्यताबाट निर्मित गौरव हो – उदार लोकतन्त्र, बजार अर्थतन्त्र र बहुलवादी–बहुसंस्कृतिवादी समाज । यी ३ वटै विशेषता: पुँजीवादका खम्बा हुन् । यी मुख्य विशेषता नै नरहे अमेरिका राज्यका रूपमा त रहला, तर राष्ट्रका रूपमा सान्दर्भिक भइरहने छैन ।

जबसम्म यी विशेषता रहन्छन्, पुँजीवाद रहन्छ । जबसम्म पुँजीवाद रहन्छ यी खम्बा ढल्दैनन् । यदि अमेरिका यीभन्दा फरक अर्को कुनै दर्शन वा विचारधारामा जान चाहन्छ भने त्यो स्वयं अमेरिकाले वैचारिक आत्मसमर्पण गरेजस्तो मात्र हुनेछ ।

वैचारिक रूपमा अमेरिका सायद साम्यवादी वा समाजवादी हुन सक्दैन । राजनीतिक प्रणालीमा उदार लोकतन्त्र अन्त्य गरी अधिनायकवादी हुन सक्दैन । एक भाषा, एक संस्कृति र एकै मनोविज्ञान भएको एकल राष्ट्र हुन सक्दैन भने पुँजीवाद अमेरिकाको अपरिहार्य आवश्यकता बन्न पुग्दछ ।

अमेरिकी राज्यको मात्र होइन, ट्रम्पलाई राष्ट्रपति बनाउने रिपब्लिकन पार्टीको मूल सिद्धान्त पनि व्यक्तिगत स्वतन्त्रता, स्वतन्त्र उद्यमशीलता, सीमित सरकार र खुल्ला बजार नै थिए । राजनीतिक स्वतन्त्रताका लागि उदार लोकतन्त्र र आर्थिक स्वतन्त्रताका लागि खुल्ला बजार रिपब्लिकन आदर्श थिए । यो चिन्तन प्रणालीमा संरक्षणवाद र राष्ट्रवाद दुवै चिन्तन स्वतन्त्रता, आर्थिक वृद्धि र मानवीय प्रगतिका बाधक तत्त्व हुन् ।

यति प्रष्ट छ कि पुँजीवाद र ट्रम्पवादसँगसँगै जान सक्दैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved