श्रीनगर । भारतको जम्मू–कश्मीरस्थित पाहलगाममा मङ्गलबार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । जसमा सन्दीप न्यौपाने नामका एक नेपाली पनि परेका छन् । मारिनेमा अधिकाङ्श हिन्दू धर्मावलम्बी पर्यटक छन् ।
यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठूलो भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताए ।
यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस ‘क्रूर घटनाको’ निन्दा गर्दै दोषीहरूलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
एक स्थानीय टुर गाइड वाहिदले एएफपीलाई भने, ‘गोली चलिरहेको आवाज सुनेपछि म घटनास्थलतिर दौडिएँ र घाइतेहरूमध्ये केहीलाई घोडामा बोकेर अस्पताल पुर्याएँ। मैले त्यहाँ केही मानिस भुइँमा लडिरहेका देखें, उनीहरू मृत देखिन्थे ।’
पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो ।
प्रहरी स्रोत अनुसार अहिलेसम्म २४ जनाको मृत्यु पुष्टि भइसकेको छ, तर यो सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ ।
हालसम्म कुनै समूहले आक्रमणको जिम्मा लिएको छैन । तर, कश्मीर क्षेत्रमा सन् १९८९ देखि चलिरहेको विद्रोहमा लडाकुहरू भारतबाट स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको पक्षमा छन् ।
भारतका प्रधानमन्त्री मोदीले केही दिनअघि अमेरिकाका उपराष्ट्रपति जेडी।भान्ससँग भेट गरेका थिए, जुन सन्दर्भमा यो आक्रमण भएको हो । मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमण विगत वर्षहरूमा नागरिकमाथि भएको सबैभन्दा ठूलो घटना भएको बताए ।
गृहमन्त्री अमित शाह घटनास्थलतर्फ गएका छन् । साथै, उनले दोषीलाई कडा सजाय दिने चेतावनी दिएका छन् ।
अनन्तनागस्थित अस्पतालमा केही घाइतेहरू पुर्याइएको छ, जसमा दुई जनालाई गोली लागेको र एक जनाको घाँटीमा गोली लागेको उल्लेख गरिएको छ ।
विपक्षी नेता राहुल गान्धीले यो घटनालाई ‘हृदयविदारक’ भन्दै सङ्घीय सरकारले उत्तरदायित्व लिनुपर्ने माग गरेका छन् ।
सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रको रूपमा प्रवद्र्धन गर्दै आएको छ । सन् २०२४ मा झण्डै ३५ लाख पर्यटकहरूले कश्मीर भ्रमण गरेका थिए ।
भारतले पाकिस्तानमाथि यस्ता आक्रमणमा सहयोग पुर्याएको आरोप लगाउने गरेको छ भने पाकिस्तानले कश्मीरको आत्मनिर्णयको अधिकारको समर्थन मात्र गर्ने बताउँदै आएको छ ।
योभन्दा पहिले सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो। सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको थियो ।
जम्मु कश्मीर हमला: एक नेपाली सहित १६ जनाको मृत्यु पुष्टि, दिल्ली र मुम्बईमा उच्च सतर्कता
Facebook Comment
Comment